जनकपुरधाम । मधेश प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूलाई स्कुल ब्याग सहितको शैक्षिक किट हस्तान्तरण गर्ने अभियान शुरु गरिएको छ ।मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री मधेश प्रसाद यादवले जनकपुरधामको सकल कन्या माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम मार्फत् विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक किट हस्तान्तरण गरी अभियानको सुरुआत गर्नुभयो ।मधेश प्रदेशको शिक्षा विकास निर्देशनालयले आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि यस्ता शैक्षिक सामाग्रीले सहयोग गर्ने तथा त्यसका लागि शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले कुनै बेला मधेशले पुरै देशमा शिक्षाको ज्योति छर्ने काम गरेको बताउँदै अहिले मधेश प्रदेश शिक्षामा पछाडि पर्नुको कारण खोजी गदै सुधार्न आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा धनुषाका विभिन्न सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत १० हजार छात्रछात्रालाई स्कुल ब्यागसहित ज्योमेट्रिक बक्स हस्तान्तरण गरियो ।मधेश प्रदेशका ८ वटै जिल्लाका कक्षा ९ मा अध्ययनरत ८६ हजार ५ सय २३ विद्यार्थीहरूलाई चालु शैक्षिक सत्रको कार्यक्रमबाट स्कुल ब्याग तथा ज्योमेट्रिक बक्स हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्देशक फुयाँलले जानकारी दिनुभयो ।साभार : रेडियो नेपाल