जनकपुरधाम , चैत ३ गते ।बालबालिकाको प्रारम्भिक विकासमा बुवाको भुमिका विषय उठ्न थालेको छ । पितृसतात्मक समाजमा बालबालिकाको हेरचाहको जिम्मा आमालाई नै रहेकाले यसले बालबालिकाको सर्वाङगिक विकासमा असर पर्ने भएकाले यसलाई व्यवहारमा लागु गर्न अभियान संचालन भएको छ । प्लान ईन्टरनेसनलको सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रले धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दनी गाउँपालिकामा संचालन गरेको बालबालिका सपना परियोजना अन्तरगत समुदायमा बुवाको व्यवहारका सम्बन्धमा कार्यक्रम संचालन गरिएको विषयमा तालिम प्रदान गरिएको छ । परियोजना अन्तरगत प्रारम्भिक बालविकासका लागि बालबालिकाको हेरचाहमा बुवाको भुमिका सम्बन्धी स्वास्थ्यकर्मीहरु संग सुरु भएको तिन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । सो तालिममा आईभीडिएसका प्रशिक्षक संजीव जोशी तथा सामाजिक विकास र अनुसन्धान केन्द्रका प्रशिक्षक निकिता यादवले सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिनुभएको थियो । बिदेह नगरपालिकाको वडा नं. ३ र ९ तथा जनकनन्दनी गाउँपालिकाको वडा नं. ३ र ४ मा संचालित बालबालिका सपना परियोजना अन्तरगत सो पालिकामा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य संयोजकहरुलाई प्रशिक्षण दिइएको परियोजनाका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो । प्रशिक्षणमा विदेह नगरपालिकाका स्वास्थ्य संयोजक रामसुन्दर साह, जनकनन्दनी गाउँपालिकाका स्वास्थ्य संयोजक मकेश्वर यादव तथा जिल्ला स्वास्थ्य कार्यालय धनुषाका अशोकलाल कर्णको पनि सहभागीता रहेको थियो । लैँगिक समानताका लागि समेत काम गरिरहेको सामाजिक विकास र अनुसन्धान केन्द्रले यो परियोजना मार्फत बालबालिकाहरुको हेरचाहका लागि उनिहरुका आमा जस्तै बुवालाई पनि आफ्नो कर्तव्यको बोध गराउने उद्देश्यले काम थालिएको परियोजनाका कार्यक्रम संयोजक निकिता यादवले बताउनु भयो ।