काठमाडौं । नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ ।प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएको छ ।क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी रहेको बताए ।‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ । त्यसैले पूर्वशर्त अनुसार हामीले तलब वृद्धि गरेका छौँ,’ उनले भने ।गत माघ २३ गते देसाइलाई क्रिकेट संघले प्रमुख प्रशिक्षकमा नियुक्ति दिएको थियो । औपचारिक नियुक्ति पाउनुभन्दा केही दिनअघिबाटै देसाइले नेपाली टिम सम्हालेका थिए ।देसाइको प्रशिक्षणका नेपालले घरेलु मैदानमा २ वटा र यूएईमा एउटा एक दिवसीय शृङ्खला खेलेको छ । घरेलु मैदानमा भएका दुवै श्रृङ्खला नेपालले क्लीन स्वीप गर्न सफल भयो । यसैगरी यूएईमा भएका ४ म्याच मध्ये तीनवटा नेपालले जितेको थियो ।समग्रमा देसाइको प्रशिक्षणमा नेपालले खेलेका १२ खेलमा ११ वटामा जित हासिल गरेको छ । यही प्रदर्शनको बलमा नेपालले जिम्बाबेमा हुने विश्वकप क्वालिफायर्समा स्थान पक्का गरेको हो । राष्ट्रिय टोलीले चमत्कारिक प्रदर्शन गर्दै दुई महत्त्वपूर्ण सफलता हासिल गरेपछि क्रिकेट समर्थकहरूमाझ देसाइ लोकप्रिय बनिरहेका छन् । क्यानले पनि छिट्टै तलव बढाएर उनलाइ पुरस्कृत गरेकाे छ ।प्रशिक्षकको तुलनामा क्रिकेट खेलाडीहरुको तलब भने नगण्य छ । केन्द्रीय सम्झौतामा परेका खेलाडीहरुले ४० देखि ६० हजार रुपैयाँसम्म मासिक तलब पाउँछन् ।साभार : नेपाल प्रेस