जनकपुरधाम । जनकपुरधाममा चैत २३ गते देखि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता मेयरकप २०७९ हुने भएको छ । मधेस प्रदेशको आठवटै जिल्लाको टिमहरूसहित कुल १२ टिमहरूको सहभागितामा जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा मेयरकप हुन लागेको हो ।प्रतियोगिता उपमहानगरपालिका १४ स्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना हुने जनाइएको छ । कुल ३७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्य रहेको जनाइएको छ । लिग चरणमा खेलाइने कुल १० खेलहरू दैनिक एक एक गरी १० दिनसम्म चल्नेछ । चैत २३ गते विश्व खेल दिवस परेकाले सोही दिन प्रतियोगिताको उद्घाटन गरिनेछ ।अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोत्तरीका मेयर तथा सांसदविरुद्ध पत्रकारहरूको मैत्रीपूर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क नलाग्ने धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले जानकारी ।उनले प्रतियोगिताको विजेता टिमले २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहित आकर्षक ट्रफी जित्ने बताए । त्यसैगरि म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले क्रमशः दश/दश हजार र म्यान अफ दी म्याचले ३ हजार नगद पुरस्कार पाउने छ ।मधेसको आठ जिल्लाको आठ टिम र अन्य प्रदेशहरू कोशी, बागमती, गण्डकी र लुम्बिनीको टिमहरूको सहभागिता रहने अध्यक्ष पाण्डेले बताए ।साभार : रातोपाटी