जनकपुरधाम ,चैत १८ गते । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर (survical cancer)को समयमै उपचार भएमा निको हुने भएकोले शनिबार जनकपुरधाममा करिब एक सय महिलाको स्वास्थ्य परिक्षण गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.१० को आर्थिक वर्ष २०७९/०८०को वडा स्तरीय बजेटबाट शनिवार आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नं.१० ले एक स्वास्थ्य शिविर संचालन गरी एक सय महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ्ग जाँच गरिएको छ । उक्त शिविरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.नितु झा ,डा.आरती अधिकारी र परिवार नियोजन संघकी राज कुमारी अधिकारीले महिलाहरुको पाठेघरको जाँच गर्नुभएको थियो । महिलाहरुमा यो रोग बढी नै देखिन थाले पछि यसको रोकथामका लागि सरकारी स्तरवाट विभिन्न खालका कार्यक्रमहरु संचालन गरिएको छ । यस रोगबाट महिलाहरुलाई पिडित नहुन दिनका लागि आफनो वार्षिक कार्यक्रममै यस प्रकारको कार्यक्रम समावेश गरिएको जनकपुरधाम उपमहानगरपालिका वडा नं.१० का वडा अध्यक्ष मिथिलेश कणर्ले जानकारी दिनुभयो । महिलाहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले यस प्रकार शिविरको आयोजना गरेको उहाँले बताउनु भयो । महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोग दिन दिनै बढदै गएको र यसलाई रोकथामका लागि समयमै उपचार गराएमा निको हुने कुराको जनचेतना बढाउनु पर्ने वडा सचिब जमुना भुजेलले बताउनु भयो । उहाँले अझै पनि यस क्षेत्रका महिलाहरु स्वास्थ्य परिक्षण गराउन लाज मान्ने गरेको भन्दै यस बारेमा जनचेतना जगाउन आवश्यक भएको बताउनु भयो । कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज अर्चना पाठकले गर्भवती भएको पाँच महिना पुरा भएका महिलालाई यस वडामा केन्द्रले पौष्टिक अहार प्रत्येक महिना दिनुको साथ साथै स्वास्थ्य समेत परिक्षण गर्ने गरेको बताउनु भयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवीन मिश्र सहितकाको सहभागिता रहेको थियो ।