काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यो निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।उनले साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिनसक्ने जानकारी दिए ।उनले भने ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरु केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुलभूतरूपमा सहमति भएको छ ।’महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि प्रष्ट्याए ।नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउन बिहीबार बिहान बालुवाटारमा बैठक बसेको थियो ।तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको स्रोतको भनाई छ ।साभार : नेपाल प्रेस