काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह केन्द्र सरकारसँग टकराव गर्ने मनस्थितिमा देखिएका छन् । दुई दिनअघि गैरीगाउँमा रहेको सुकुमवासी बस्तीमा डोजर चलाउन नपाएपछि उनी सरकारविरुद्ध आक्रामक बनेका हुन् ।सुकुमवासी बस्तिमा डोजर चलाउने बालेनको योजना गृहमन्त्रालय र प्रहरीको असहयोगका कारण असफल भएको थियो । डोजर ल्याउने बाटोमा स्थानीयवासीले अवरोध गरेपछि बालेनले प्रहरीको सहयोग खोजेका थिए । उनी आफैं सिनामंगलस्थित सशस्त्र प्रहरीको गणमा पुगेर सहयोग मागे । तर, सशस्त्रले माथिको आदेश नभएको भन्दै आफ्नो लाचारी दर्शाएपछि बालेन निराश भएका थिए । यसको झोक उनले भोलिपल्ट सामाजिक सञ्जालमा पोखे ।
हुन त बालेनले शुक्रबार र शनिबार लेखेका स्टाटसहरूलाई त्यति गम्भीरतापूर्वक लिनु हुँदैन भन्ने चर्चा पनि छ । तर, बालेनले हिजो लेखेका स्टाटसहरू यत्तिकै नजरअन्दाज गर्न सकिने खालका थिएनन् । आफ्नो भेरिफाइड अकाउन्टबाट उनले सिंहदरबारको फोहोर आजबाट नउठ्ने घोषणा गरे । कुनै स्पष्ट कारण उल्लेख नगरिकन उनले यस्तो घोषणा गरेका थिए । बरु उनले ‘नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने’ आक्रोशित अभिव्यक्तिसमेत थिए ।‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँ (सिंहदरबार) का नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ बालेनको यो भनाइले उनी सरकारसँग चरम असन्तुष्ट रहेको बुझ्न सकिन्छ ।
उनले आफ्नो पर्सनल अकाउन्टमा लेखेको स्टाटस अझै गम्भीर प्रकृतिको छ । बालेनले कुनै तथ्य र आधार प्रस्तुत नगरीकन ‘यो सरकार भारत र चीनले बनाइदिएको’ लेखेका छन् । कतिपयले यसलाई जिम्मेवार पदमा रहेको व्यक्तिबाट आएको गैरजिम्मेवार अभिव्यक्तिका रूपमा टिप्पणी गरेका छन् । तर, सामामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा जनसमर्थन चाहीँ उनको पक्षमा देखिन्छ ।
पक्कै पनि देशको राजधानी सहरको नेतृत्वदायी पदमा रहेको व्यक्तिले पर्याप्त सोचविचार नगरी केन्द्र सरकारविरुद्ध नै यसरी सार्वजनिक रुपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे ? के यो अस्ति सुकुमवासी वस्ति भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रिया मात्रै हो ?बालेनका निकट सहयोगी कुमार बेन सुम्कुम्वासी बस्ति हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्वन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।
देशको राजधानी शहरको नेतृत्व गर्ने मेयरले नै यसरी सरकारविरुद्ध सार्वजनिकरूपमा फायर खोल्नु शुभ संकेत होइन । आखिर किन उनी सरकारप्रति यसरी उत्तेजित हुन पुगे ? के यो अस्ति सुकुमवासी बस्ती भत्काउन नपाउँदाको क्षणिक प्रतिक्रियामात्रै हो ?
बालेनका निकट सहयोगी कुमार बेन सुकुमवासी बस्ती हटाउने विषयसँग हिजोका स्टाटसहरूको सम्बन्ध नरहेको बताउँछन् । उनले सुकुमवासी बस्तिमा डोजर चलाउने तयारी नरहेको दाबी गरे ।
‘डोजर आउँदैछ भन्ने हल्ला मात्रै भएको हो । त्यस्तो कुनै तयारी थिएन । अदालतले नै त्यहाँ वस्ति नभत्काउन आदेश दिएको छ । महानगरले डोजर चलाउँदैछ भनेर यत्तिकै अफवाह फैलाइयो,’ उनले भने । (तर, अस्ति गैरीगाउँमा डोजर लैजान बालेनले सहयोग मागेको सशस्त्र प्रहरीको स्रोतले नेपाल प्रेससँग पुष्टि गरेको छ । महानगरले यसअघि बस्ती खाली गर्न एकसाताको समय दिएर गोरखापत्रमा सूचना पनि प्रकाशित गरेको थियो ।)यदि सुकुमवासी बस्ती कारण होइन भने अचानक बालेनको यस्तो स्टाटस किन आयो त ? यो प्रश्न बेनलाई सोध्दा उनले एक-दुई दिनमा यसबारे आधिकारिक जानकारी दिइने बताए ।‘महानगरले विज्ञप्ति नै जारी गरेर सरकारबाट भइरहेका असहयोगसम्बन्धी सबै कुरा सार्वजनिक गर्नेछ,’ उनले भने ।
फोहोर नउठाउन निर्देशन
बालेनको घोषणाबमोजिम आजबाट सिंहदरबारको फोहोर नउठ्ने भएको छ । हिजो शनिबार भएकाले बालेनको घोषणा आजबाट कार्यान्वयन हुने भएको हो ।महानगर स्रोतका अनुसार सिंहदरबारमात्र नभएर प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवासको समेत फोहोर नउठाउन निजी कम्पनीहरूलाई निर्देशन दिइएको छ । निजी कम्पनीहरूले ती स्थानको फोहोर उठाएर टेकुमा ल्याउने गर्छन् । टेकुबाट महानगरले तिनपिप्लेमा लैजान्छ ।यदि जबरजस्ती फोहोर उठाइएमा टेकुमा खसाल्न नदिने चेतावनीसमेत महानगरले दिएको स्रोतले बतायो । महानगरलाई भइरहेको ‘असहयोग’ बारे सरकारले कुनै प्रतिबद्धता नगरुञ्जेल फोहोर नउठाएर दबाब दिने रणनीति मेयरले लिएका हुन् ।
प्रहरी बिटसमेत हटाउने चेतावनी
महानगरका मेयर साहले नेपाल प्रहरीले फुटपाथ ओगटेर राखेका बनाएका संरचना समेत हटाउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत नै उनले यस्तो चेतावनी दिएका हुन् । यदि प्रहरीले आफैं नटाएर महागनरले ती संरचना हटाउने उनको घोषणा छ । फुटपाथ मिचेर बनाइएका प्रहरीका संरचनाको समेत फेहरिस्त बालेनले सामाजिक सञ्जालमा राखेका छन् ।साभार : नेपाल प्रेस