काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने एमाले कार्यकर्ता हवाई सुरक्षाको गम्भीर उल्लंघन गर्दै जहाजको ढोकामा पुगेका छन् । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको भिड बुद्ध एयरको ढोकासम्म पुगेको हो । नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालका अनुसार यो घटना आज विहानको हो । एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण भएको थियो । उनी जहाजबाट उत्रने क्रममा कार्यकर्ता ढोकासम्म पुगेका हुन् । विमानस्थल सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन । नेपाल प्रहरीको कमजोरी देखिएको विमानस्थल प्रमुख खनालले बताए । साभार : कोसी अनलाइन