काठमाडौं । न्यायपरिषदका न्यायधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा हिजो पक्राउ परे । काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेर कपिलवस्तु पठाइएको छ ।गिरीमाथि उनकी कान्छी श्रीमती आरती रावलले जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार गरेको, कुटपिट गरेको, बन्धक बनाएकोलगायतका आरोपहरु उनले लगाएकी छन् । नेपालको कानूनले विवाह गरेकी श्रीमतीलाई पनि यदि निजको इच्छाविपरीत यौनसम्वन्ध राखेमा त्यसलाई बलात्कार मान्छ ।नेपालमा वैवाहिक बलात्कारको कानून निर्माण गरिएको धेरै भएको छैन । २०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ ले पहिलो पटक वैवाहिक बलात्कारमा सजायको व्यवस्था गरेको हो । सो ऐनको दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ । तर, ऐनअनुसार पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थालाई ‘वैवाहिक सम्बन्ध कायम रहेको’ मानिँदैन ।यस्तो अवस्थामा पीडितको निवेदन मागबमोजिम आवश्यक भएमा अदालतले पत्नीलाई निज बस्दै आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खाना लगाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न आदेश दिन सक्नेछ । पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन पनि सक्नेछ ।
दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पत्नीलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणका लागि आवश्यक व्यवस्था गर्न लगाउने सक्नेछ । पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाका लागि आवश्यक र उपयुक्त कुरा गर्न गराउन सक्नेछ ।गिरी र रावलको सम्वन्धविच्छेदको मुद्दा पनि चलिरहेको छ । रावलले सो मुद्दा दायर भइसकेपछि पनि आफूलाई श्रीमानले जबरजस्ती सम्वन्ध राखेको बताएकी छन् । अस्तिको दिन पनि आफ्नै कोठामा आएर गिरीले रातभर बलात्कार गरेको उनको दाबी छ । यस विषयमा उनले छुट्टै जाहेरी दिँदैछिन् । यदि यो आरोप प्रमाणित भयो भने गिरीले अझै कठोर सजाय पाउनेछन् ।गिरीले जेठी श्रीमतीलाई अंश दिए पनि औपचारिक सम्वन्धविच्छेद गरेका छैनन् । आरतीसँग उनले विवाह गरे पनि बच्चा जन्माएका छैनन् । श्रीमानको दबाबमा पटक-पटक आफूले गर्भपतन गराएको आरतीले बताएकी छन् । जेठी श्रीमतीपट्टिबाट गिरीका ४ जना सन्तान छन् । कान्छी श्रीमतीको गर्भपतन गराएपछि गिरीले आफ्नो स्थायी बन्ध्याकरण गरेका थिए । सन्तानको चाहना रहेकी रावलले श्रीमानले बन्ध्याकरण गरेको थाहा पाएपछि तनावमा परेकी थिइन् । आफूलाई यौनेच्छा पूर्तिको साधनमात्र बनाएको महसुस गरेपछि आरती श्रीमानविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।
गिरीले चाहिँ आरतीमाथि चोरीको मुद्दा लगाएर प्रहरीमा काउन्टर उजुरी दिएका छन् । आफ्नो घरबाट पैसा चोरेर भागेको भन्दै गिरीले दिएको उजुरीमाथि पनि प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ ।महान्यायाधिवक्ताको कार्यालयको तथ्यांकअनुसार जिल्ला सरकारी वकिल कार्यालयमा ४० वटा वैवाहिक बलात्कारका मुद्दा दर्ता भएकामा अहिलेसम्म ६ वटामा कसुर कायम भएको छ भने नौ वटामा आरोपितले सफाइ पाएका छन् । एउटा मुद्दा भने फिर्ता भएको छ । २०७८/०७९ को तथ्यांकअनुसार देशभरका अदालतमा वैवाहिक बलात्कारको २४ वटा मुद्दा फर्छ्याेट हुन बाँकी छन् ।
न्याय परिषदले पनि छानबिन गर्दै
प्रहरीले पक्राउ गरिसके पछि न्यायधीश गिरी पदबाट निलम्बित भइसकेका छैनन् । न्याय परिषद्का सहसचिव मानबहादुर कार्कीका अनुसार न्याय परिषदले गिरीमाथी छानबिन प्रक्रिया अघि बढाएको छ । परिषद्ले छानबिन गरिसकेपछि आवश्यक निर्णय लिने उनले बताए ।साभार : नेपाल प्रेस