काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाल र इजरायल सरकारबीच हुने जीटुजी सम्झौतामार्फत् सरकारी कोटामा इजरायल पठाउने भन्दै दुई जनाबाट ३१ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् ।बर्दियाको गुलरिया नगरपालिका- ३ खैरापुर घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षका सुनिलकुमार यादव पक्राउ परेका हुन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले यादवको खोजतलास गर्ने क्रममा चैत २८ गते लाजिम्पाटबाट पक्राउ गरेको हो । यादवबारे थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइसकेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।उनका अनुसार यादव रीता लामासमेत गरेर दुई जनालाई कृषि कम्पनीमा काम लगाइदिने पीडितबाट पटक-पटक गरेर ३१ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । त्यसविरुद्ध पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्राचार गरेको थियो ।साभार : नेपाल प्रेस