काठमाडौं– आफ्नो भागमा परेको मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा समूहको बैठक बसेको छ। बैठकमा तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने निर्णय बैठकले गरेको छ। चैत १७ गते मन्त्रिपरिषद् विस्तार भएपछि उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् । अब परराष्ट्र, स्वास्थ्य, कानुन तथा संसदीय, युवा तथा खेलकुद मन्त्रालयमा कांग्रेसले मन्त्री बनाउन बाँकी छ । सम्भवतः आजै मन्त्रीको नाम पठाइने भएको छ । संस्थापन पक्षबाट केन्द्रीय सदस्य एनपी साउद र मोहन बस्नेतको नाम फाइनल भइसकेको बुझिएकोछ । शेखर समूहबाट उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बू र सुरेन्द्र आचार्य मन्त्री बन्ने बुझिएको छ ।साभार : मिडिया डबली