जनकपुरधाम बैसाख १ गते । नयाँ वर्षको आगमन संगै समाजमा सचेतना बढाउने उद्देश्यले धनौजी गाउँपालिका वडा नं. ५ बहुअर्वामा शुक्रबार पुस्तकालयको उद्घाटन गरिएको छ ।सामाजिक क्षेत्रमा श्रृजनात्मक कामका लागि स्थापना भएको सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्र अन्तरगत स्थापना भएको पुस्तकालयको उद्घाटन सो पालिकाका अध्यक्ष राजकुमार साह तथा वडाध्यक्ष मो. याकुव कवारीले गर्नुभएको छ । केन्द्रका अध्यक्ष शिव सागर साहको अध्यक्षतामा भएको सो पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पालिका अध्यक्ष साहले पुस्तकालयका लागि चाहिने आर्थिक सहयोग आफ्नो कार्यकालमा नियमित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि लोसपाका नेता तथा अध्यक्षका प्रत्यासी जिवेन्द्र झाले गाउँमा पुस्तकालय स्थापनाले युवाहरुलाई पढाईका साथै साकारात्मक काम प्रति जागरुक बनाउन सहयोग पुग्ने बताउनु भयो । अर्का विशिष्ठ अतिथि वडाध्यक्ष मो. याकुव कवारीले पुस्कालयबाट युवाहरुलाई सामाजिक क्षेत्रमा काम गर्न तथा शिक्षा प्रति जागरुक बनाउन सहयोग पुग्ने बताउनु भयो । अहिले तत्कालका लागि साझा प्रकाशन तथा स्थानीय स्तरमा संकलन गरेर पुस्तकालय स्थापना गरेको बताउदै केन्द्रका सचिव रामकृपाल महतोले निकट भविश्यमा सो पुस्तकालयमा बाँकी पुस्तक तथा पत्रिकाको व्यवस्थापन गरिने जानकारी दिनुभयो । पुस्तकालय उद्घाटन कार्यक्रममा सो पालिकाका वडा नं. ५ बहुअर्वाका पुर्व वडाध्यक्ष कमल नारायण पंकज,वरिष्ठ अधिवक्ता देवेन्द्र ठाकुर निराला, विभिन्न पार्टीका अध्यक्ष तथा प्रतिनिधि, बुद्धिजिवी, प्रहरी चौकी देवडिहाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । पुस्तकालय उद्घाटन पछि सो परिषरमा बृक्षारोपण समेत गरिएको सचिव महतोले जानकारी दिनुभयो । सामाजिक सचेतनाका साथै जनहितका काम गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्रले अगामी दिनमा पुस्तकालयलाई व्यवस्थित बनाउनुका साथै सामाजिक क्षेत्रमा थप श्रृजनात्मक काम गर्ने सचिव महतोले जानकारी दिनुभयो ।