जनकपुरधाम । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजनाले काम गरेपछि मधेश प्रदेशका कतिपय बालीको उत्पादनमा वृद्धि भएको छ । कृषिको उत्पादन बढाई खाद्यान्नमा मुलुकलाई आत्म निर्भर बनाउने तर्फ परियोजनाले काम गरेपछि केही बालीको उत्पादनमा बढोत्तरी भएपनि अझै मेहनतको आवश्यकतामा जोड दिइएको छ । परियोजनाको प्रदेश समन्वय इकाईद्वारा महोत्तरी जिल्लाको बर्दिबासमा आयोजना गरिइएको प्रदेश स्तरीय तेस्रो त्रैमासिक समीक्षा गोष्ठीमा यस पटक अपेक्षा अनुसारको प्रगति नभएपनि समग्रमा ४० प्रतिशतले प्रगति भएको जानकारी समन्वय इकाईका प्रमुख युगल किशोर तिवारीले गराउनु भएको थियो । दुई महिनासम्म खाता रोक्का भएको कारणले वित्तीय प्रगति कम भएको जानकारी गराइएको छ । स्वदेशी पूँजी तथा प्राविधिकको प्रत्यक्ष सहभागितामा शुरु भएको परियोजनाले मुलुकमा वर्षेनी रुपमा हुने गरेको खाद्यान्न आयातलाई विस्थापित गरि खाद्यान्न, फलफूल, तेलहन, दलहन सहितको बालीमा मुलुकलाई आत्म निर्भर बनाएर विदेशमा निर्यात गर्ने क्षमता हाँसिल गर्ने उद्देश्यले परियोजनाको शुरुवात भएको थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जिल्ला जिल्लामा काम गरेपछि कतिपय बालीको उत्पादनमा वृद्धि भएको छ । खास गरेर मधेश प्रदेशका जिल्लाहरूमा माछाको उत्पादन व्यापक मात्रामा वृद्धि भएको छ । माछामा आत्मनिर्भर बन्नुका साथै भारत तर्फ निर्यात हुन थालेको छ । मधेश प्रदेशका ८ जिल्लाका परियोजना कार्यान्वयन इकाईका प्रमुखहरुले जिल्लामा भएको कामकाजका विषयमा प्रस्तुति गर्दै छलफल पनि भएको छ । जिल्लाहरूमा परियोजनाले गरेको कामकाजका विषयमा प्रस्तुति पछि भएको कमी कमजोरी तथा सुधारको विषयमा छलफल भएको थिए । कार्यक्रममा बोल्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ब्लक तथा पकेट कार्यक्रममा तीव्रता दिन आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन कार्यालयका वरिष्ठ कृषि इन्जिनियर डा. जीत बहादुर चन्दको अध्यक्षतामा भएको सो कार्यक्रममा आर्थिक वर्षको बाँकी अवधिमा कार्यक्रममा तीव्रता दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ । साभार: रेडियो नेपाल