जनकपुरधाम बैसाख २६ गते । जनकपुरधाममा दर्ता बिनाको संचालनमा रहेका संस्थागत विद्यालयहरुको तथ्याङक सार्वजनिक गर्न सुरु गरिएको अनुगमन अब उपमहानगरपालिकाको अगुवाईमा थालिएको छ । सोमबार बसेको उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकबाट गठन भएको अनुगमन टोलीले मंगलबार देखि बिद्यालय अनुगमन सुरु गरेका हुन । नगर शिक्षा समितिले सुरु गरेको अनुगमनका क्रममा जनकपुरधाम वडा नं. १२ का ज्ञान गंगा इंन्टरनेशनल पब्लिक स्कुल तथा वडा नं. १५ मा रहेको अक्सफोर्ड इंगलिस बोर्डिङ स्कुलमा अनुगमन गर्दा दर्ता नभएको पाइएकाले बन्द गर्न निर्देशन दिएको उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार ज्ञानगंगा बिना अनुमती कक्षा ९ सम्म संचालन गरेको पाइएको तथा अक्सफोर्ड बोर्डिङ स्कुल क्रिएटिभ स्कुलको नाउँमा दर्ता भएको र नाम परिवर्तन बिना नै संचालन गरिरहेकाले अक्सफोर्डको नाउँमा विद्यालय संचालन नगर्न निर्देशन दिएको बताउनु भयो । शिक्षा ऐन २०२८,नियमावली २०५९ तथा नगर शिक्षा ऐन बमोजिम बन्द गर्न निर्देशन दिएको उहाँले बताउनु भयो । नगर शिक्षा समितिले सरोकारवालाहरू संग समन्वय गरेर बिद्यालयहरूको अनुगमन सुरु गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले अहिले सम्म ११५ अनुमति प्राप्त बिद्यालय मात्र संचालनमा रहेको भएपनि कक्षा संचालन बारे अनुमतिको लागि बिभिन्न बिद्यालयबाट निवेदन आएको बताउनु भएको छ । मंगलबार भएको सो अनुगमनमा जनकपुरधामका मेयर साह लगायत, प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशि, शिक्षा शाखा प्रमुख अन्जु पाण्डे,नगर शिक्षा समितिका सदस्य रविन्द्र चौधरी, संस्थागत विद्यालय संरक्षण समितिका संयोजक अवधेश तिवारी,वडा नं. १०का अध्यक्ष मिथिलेश कुमार कर्ण , प्रहरी वरिष्ठ नायव निरिक्षक दिपक थापा लगायतको उपस्थिती रहेको थियो । अनुगमन बुधबार पनि जारी रहने जनाइएको छ ।