जनकपुरधाम । धनुषाका विभिन्न स्थानमा चोरी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ७ जनालाई बिहिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । प्रहरी उपरीक्षक विश्वराज खड्काले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिए ।उनीहरुलाई पक्राउ गर्न प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली खटाइएको समेत खड्काले जानकारी दिए । उनका अनुसार कतिपय अवस्थामा चोरलाई पक्राउ गर्न प्रहरी नै चोर बनेर खटेका थिए । प्रहरीले बुधबार चोरी गरेर भाग्दै गरेका एक जनालाई सामानसहित पक्राउ गरेको थियो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर बस्ने ३५ वर्षीय रञ्जित दास रहेका छन् ।बुधबार दिउँसो करिब साढे ४ बजे जनकपुरधाम उपमहानगरपालिका–९ बेल्हीस्थित बेचु साहको घरमा प्रवेश गरेर दराजको ताला फोडी सामानहरु चोरी गरेर भाग्ने क्रममा दास पक्राउ परेका थिए । स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।पक्राउ परेका दासले साहको घरबाट सुनको जस्तो देखिने मंगलसुत्र २ थान, सुनको जस्तो देखिने जन्तर १ थान, चाँदीको जस्तो देखिने बाला ४ थान, चाँदीको जस्तो देखिने बिछिया ८ थान, चाँदीको गिलास र चम्चा १÷१ थान र चाँदीको जस्तो देखिने ब्रासलेट १ थान चोरी गरेका थिए ।प्रदेश–२–०२–००५ प ७९२६ नम्बरको मोटरसाइकलमार्फत भागेका उनलाई पक्राउ गरिएको डीएसपी गौतमले बताए । त्यस्तै बिहीबार मध्यान्ह १२ बजे जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचोकबाट २१ वर्षीय सञ्जिव राम र क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने वर्ष २८ का इन्दल रामलाई प्रहरीले पक्राउ गरेको छ ।ज १२ प ६६० नम्बरको मोटरसाइकल चोरी गरेर भागिरहेका बेला वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल र मास्टर कि दुई थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यस्तै वैशाख १७ गते राति १ बजे संकटमोचन मन्दिर नजिकबाट प्रहरीले २८ वर्षीय सलामद दर्जी र २३ वर्षीय मोहम्मद राजा खानलाई पक्राउ गरेको छ ।घरको ताला फुटाई घरभित्र प्रवेश गरेर चोरी गर्ने क्रममा उनीहरूलाई घेराउ गरी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । सो घटनामा संलग्न चोरलाई समात्न प्रहरी नै चोर बनेर पुगेका थिए ।त्यस्तै बैशाख २६ गते राति १२ बजेको समयमा घरको ताला फोड्ने औजारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजकुमार यादव र सोनु सहनी रहेका छन् । पक्राउ परेका उनीहरूको साथबाट हेक्स ब्लेड १ थान, पिलास १ थान, फलामको रिन्च ४ थान बरामद भएको थियो ।साभार : रातोपाटी