महोत्तरी, जेठ ३ गते । महोत्तरीको गौशाला नगरपालिकाका छ जना बालबालिका सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जेठ १ गते घरबाट निस्केका गौशाला नगरपालिकाका दुई बालक र चार बालिका सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जनाएको छ ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रकाश मल्लले गौशाला नगरपालिका–४ का १५ वर्षीया पूजा सदा, १३ वर्षीया विमला सदा, १८ वर्षीया सङ्गीता सदा, १७ वर्षीया रिता सदा, १४ वर्षीय करण सदा र १३ वर्षीय राजेश सदा सोमबार साँझदेखि सम्पर्कविहीन भएको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।प्रमुख मल्लले जेठ १ गते सम्पर्कविहीन भएका बालबालिकाबारे २ गते मात्रै प्रहरीमा जानकारी आएको बताउनुभयो । उहाँले सम्पर्कविहीन भएका बालबालिकाको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।प्रारम्भिक सूचना अनुसार उनीहरूको लोकेसन पत्ता लागेपनि यकिन गर्न नसकिएकाले थप जानकारी अहिले दिन नमिल्ने बताउनुहुँदै उहाँले सम्पर्क सूत्रहरूबाट ठोस जानकारी प्राप्त गर्ने प्रयास भइरहेको बताउनुभयो ।यता, गौशाला नगरपालिकाका उपप्रमुख रेणु कुमारी महतोले सम्पर्कविहीन बालबालिकाका खोजीका लागि इलाका प्रहरी कार्यालय गौशालालाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।यसअघि गत वर्ष काम लगाइने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका करिब १२ जना दलित बालिकालाई भारत लैजाँदै गरेको समयमा सितामढीबाट प्रहरीले सुरक्षित उद्धार गरेको थियो ।साभार : गोरखापत्र