काठमाडौँ । मधेस प्रदेश सरकारको बारेमा छलफल गर्नका लागि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर पुगेका छन् ।जसपा नेतृत्वमा रहेको मधेस सरकारमा कांग्रेस, लोसपा, नेकपा (एकीकृत समाजवादी) लाई सहभागी गराउने विषयमा छलफल हुन्छ । शुक्रवार बसेको गठबन्धनको बैठकले मधेस प्रदेशको सरकार आलोपालो सञ्चालन गर्ने र पहिलो चरणमा जसपाले नेतृत्व गर्ने सहमति भएसँग त्यसलाई विस्तार गर्ने भएको छ ।आज जनकपुरमा बस्ने गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँड लगायतको विषयमा छलफल हुने बताइएको छ । मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । यसअघि एमालेले चार वटा मन्त्रालय सम्हालेको थियो । एमाले सरकार छाडेर निस्किसकेको छ ।जसपाले मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय सम्हाल्दै आएको छ भने जनमत पार्टीले दुई, माओवादीले एउटा मन्त्रालय सम्हाल्दै आएको छ ।एमालेले छाडेर गएको चार वटै मन्त्रालय काँग्रेसले माग गरेको छ भने लोसपा र नेकपा (एस) ले दुई–दुई वटा मन्त्रालय माग गरेका छन् । यसरी माग गरिएको आधारमा मन्त्रालय माग गरे भने पाँच वटै दललाई मन्त्रालय नपुग्ने अवस्था रहेको छ । जसपा नेपालका एक नेताले भने, मुख्यमन्त्री सहित जसपाले दुई, काँग्रेसले तीन, जनमतले दुई, नेकपा (एस), माओवादी र लोसपाले एक–एक वटा मन्त्रालय बाँडफाँड गर्दा मिल्ने रहेछ ।’कांग्रेसले चार वटा मन्त्रालयको अडानमा रही रह्यो भने जसपाले दुइटा मन्त्रालय छोड्नुपर्ने हुन्छ ।मधेस प्रदेशको सत्ता गठबन्धनमा सबभन्दा ठुलो दल कांग्रेस रहेको छ । उसको संसद् सङ्ख्या २२ रहेका छन् । त्यसपछि दोस्रोमा जसपा रहेको छ । उसको संसद् सङ्ख्या १९, जनमत पार्टीको १३, लोसपा र माओवादी ९–९ र नेकपा (एस) को सात सांसद रहेका छन् । साभार : रातोपाटी