काठमाडौं । नेपालसमेत सहभागी हुने एकदिवसीय क्रिकेटको ग्लोबल क्वालिफायरको खेल तालिका हिजो सार्वजनिक गरियो । उक्त तालिकाअनुसार समूह ‘ए’ मा परेको नेपालले आयोजक जिम्बाबेसँग उद्घाटन खेल खेल्दैछ ।नेपाली क्रिकेट समर्थकहरू यो प्रतियोगिताको तीव्र पर्खाइमा छन् किनकि पहिलो पटक नेपाली राष्ट्रिय टिमले टेस्ट मान्यताप्राप्त राष्ट्रहरूसँग भिड्ने मौका पाएको हो ।तर, प्रतियोगिताको सेड्यूल बाहिरिँदा एउटा कुराले भने नेपाली फ्यानहरूलाई खिन्न बनायो । त्यो हो, प्रतियोगिता पूर्व खेलाइने अभ्यास म्याचको तालिकामा नेपालमाथि आईसीसीको भेदभावपूर्ण व्यवहार ।
यस प्रतियोगितामा दुवै समूहमा दुई–दुई टेस्ट राष्ट्र र ३–३ एसोसिएट राष्ट्रहरू सहभागी छन् । नेपालको समूहमा रहेका टेस्ट राष्ट्रहरू जिम्बाबे र वेस्ट इन्डिज हुन् । एसोसिएट्स राष्ट्रमा नेदरल्यान्ड्स र अमेरिका छन् । यस्तै समूह बीमा दुई टेस्ट राष्ट्र आयरल्यान्ड र श्रीलंका तथा एसोसियट्स राष्ट्रहरू ओमान स्कटल्यान्ड र यूएई छन् ।सहभागी सबै टिमहरूले प्रतियोगिता पूर्व दुई–दुई अभ्यास खेल खेल्ने तालिका बनाइएको छ । जसमा समूह एका सबै टिमले समूह बीका दुई टिमसँग र समूह बीका सबै टिमले समूह ए का दुई टिमसँग अभ्यास खेल खेल्छन् ।यो अभ्यास खेल पनि नेपालका लागि निकै महत्त्वपूर्ण छ । तर आईसीसीले नेपालका दुवै अभ्यास खेल एसोसिएट्स राष्ट्रसँग पारिदिएको छ । जबकि बाँकी ५ वटै एसोसिएट्स टिमहरूले टेस्ट राष्ट्रसँग एउटा अभ्यास खेल खेल्न पाउनेछन् ।प्रतियोगिता पूर्व श्रीलंका वा आयरल्यान्डजस्ता बलिया राष्ट्रसँग अभ्यास खेल्न पाएको भए त्यो नेपालका लागि धेरै प्रभावकारी हुन सक्थ्यो । तर, ओमान र यूएईसँग नेपालको अभ्यास खेल परेको छ । यी दुवै टिमसँग नेपालले पछिल्लो समय बारम्बार खेल्दै र जित्दै आएको हो ।आईसीसीले नेपालमाथि ठाडो विभेद गर्दै टेस्ट राष्ट्रसँग अभ्यास खेल्न वञ्चित गराएपछि नेपाल क्रिकेट संघले औपचारिक रुपमा नै प्रतिवाद गरेको छ । क्यानले हिजो नै आईसीसीलाई इमेलमार्फत पत्राचार गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए ।
‘हामीमाथि अलिकति अन्याय भएको छ । त्यसैले हामीले अभ्यास खेलको तालीकामा पुनर्विचार गर्न आग्रह गर्दै आईसीसीलाई इमेल लेखेका छौं,’ उनले भने । इमेलको जवाफ नआइसकेको उनले बताए ।अरू एसोसिएट्सले टेस्ट राष्ट्रसँग अभ्यास खेल्दा नेपाललाई वञ्चित गरिनुले असमान व्यवहार झल्किएको पाठकको भनाइ छ ।उनी भन्छन्, ‘यो प्रतियोगिता हाम्रोलागि निकै महत्त्वपूर्ण छ । हामीलाई टेस्ट कन्ट्रीसँग खेल्ने अवसर बारम्बार आउँदैन । त्यसैले कम्तीमा एउटा म्याच टेस्ट कन्ट्रीसँग पारिनुपर्छ भन्ने हामीले माग राखेका हौं ।’अझै पनि समय भएकाले आईसीसीले अभ्यास खेलको तालिकामा पुनर्विचार गर्ने आशा क्यानले राखेको पाठक बताउँछन् ।साभार : नेपाल प्रेस