धादिङ, जेठ ११ गते । जिल्ला अदालत धादिङले बलात्कार मुद्दाको फैसला नौ वर्षपछि गरेको छ । दुई वर्षभन्दा बढी समय मुद्दा फैसला गर्ने समय राख्न नहुने बताए पनि निरन्तर सुनुवाइ गर्नुपर्ने विषयको बलात्कार मुद्दाको फैसला हुनका लागि नौ वर्षसम्म समय लागेको छ । ७९ वर्षीया महिलालाई बलात्कार गरेको घटनाका आरोपित गल्छी गाउँपालिका –५ का ५९ लप्टन भन्ने नेत्रबहादुर तामाङलाई जिल्ला अदालतले मुद्दा परेको नौ वर्षपछि ६ वर्ष कैद गर्ने फैसला गरेको छ ।धादिङ जिल्ला अदालतका न्यायधिश स्वीकृति पराजुलीको इजलासले मङ्गलवार तामाङलाई ६ वर्ष कैद गर्ने फैसला गर्नुभएको हो । जिल्ला अदालतले बलात्कार गर्नेलालाई ६ वर्ष जेल सजाय, पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिन र पीडित राहत कोषमा एक हजार दुई सय रकम तिर्नुपर्ने अन्तिम फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।वृद्ध बलात्कारको मुद्दा १८ औँ पेसीमा फैसला भएको देखिन्छ । २०७० चैत ३ गते तत्कालीन अवस्थामा ७० वर्षीया महिलालाई बलात्कार गरेका आरोपित विरुद्ध पीडित पक्षले २०७१ वैशाख ४ गते सरकारी वकिल कार्यालय मार्फत जबरजस्ती करणी मुद्दा दर्ता भएको थियो ।पीडित पक्षले उजुरी दिए पनि आरोपित फरार भएका कारण २०७१ मङ्सिर १० गतेबाट मुद्दालाई मुल्तबीमा राखिएको थियो ।हरेक दुई वर्षमा मुल्तबीमा राखिएको मुद्दालाई अदालतले जगाउने गरेको छ । लामो समय मुल्तबीमा रहेको मुद्दाको जिल्ला अदालतले ०७९ फागुन १५ गते पुनः मुद्दा जगाएपछि फैसला भएको हो । घटनामा संलग्न तामाङ हाल पनि फरार छन् ।साभार : गोरखापत्र