जनकपुरधाम । वर्षा शुरु भएकाले बाढीसहित अन्य विपद्जन्य जोखिमलाई न्यून गर्नका लागि धनुषामा पूर्व तयारी शुरु भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजनामा भएको पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको बैठकमा जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने साधन श्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता प्रकट गरियो । विपद्का लागि आवश्यक पर्ने साधन श्रोत उपलब्ध गराउने प्रतिबद्धता स्थानीय तहका प्रमुख/उपप्रमुखहरूले गर्नुभयो ।
सम्भावित जोखिमको अवस्थाबारे अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग तथा सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने निर्णय पनि बैठकले गरेको छ ।यसका साथै प्रत्येक वर्ष गर्मीको समयमा आगलागी हुने भएकाले धनुषा जिल्लामा रहेका चार वटा वारुण यन्त्रमध्ये केही बिग्रेको र केही निकै पुराना भएकाले नयाँ वारुण यन्त्र किन्ने योजना आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै पालिकाहरूले राख्ने भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विपद् आउनु भन्दा अगाडी नै यसबाट हुने जोखिम कम गराउने उद्देश्यले बैठक गरिएको बताउनुभयो ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले विपद्बाट हुने जोखिम कम गर्न उपमहानगरपालिका स्थानीय प्रशासनसँग सबै प्रकारको सहकार्यका लागि तयार रहेको बताउनुभयो ।साभार : रेडियो नेपाल