राहुल कुमार सिंह ,
जनकपुरधाम।सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले स्थापनाको ७३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वृक्षारोपण , खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले शनिवार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
नगरप्रमुख साहले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुँदै आएको विद्यालयका प्रधानाध्यापक महावीर दासले बताएका छन । विगत केही वर्षदेखि इन्जिनियरङ विषयको समेत अध्ययन अध्यापन भइरहेको छ । कतिपय सामूदायिक विद्यालयमा विद्यार्थीको अभाव खट्किएको अवस्थामा यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई स्थान अभावमा भर्ना गर्न समस्या भएको विद्यालयका शिक्षक एवम् सुचना अधिकारी अनिल कर्णले जानकारी दिएका छन ।