काठमाडौँ ,कार्तिक १५ गते । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आगामी माघ दोस्रो साताका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।निर्वाचन आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ । आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ । पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् ।एमालेबाट राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् ।
दिलकुमारी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति हुन् भने विमला राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । यस्तै कांग्रेस राष्ट्रिय सभा दलको नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि पनि फागुन २० मा सकिने छ । पन्थ दिगो विकास तथा सुशासन समिति सभापति हुन् ।माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा पनि फागुन २० मा विदा हुने छन् । जसपाका प्रमिलाकुमारी यादव र स्वतन्त्रका खिमलाल देवकोटा पनि फागुन २० मा सकिने छ । जसपाकी प्रमिला अहिले राज्यमन्त्री छिन् ।
सत्ता गठबन्धन र एमालेबिच मुख्य प्रतिस्पर्धा
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । ५५० प्रदेशसभा सदस्य र ७५३ गाउँपालिका प्रमुख–उपप्रमुख गरी २०५६ जना मतदाता हुन्छन् । जसमा प्रदेश सभा सदस्य एक, पालिका प्रमुख एक र उपप्रमुखको दुई ठाउँमा पद रिक्त छ । निर्वाचन आयोगले उपनिर्वाचन अघिनै राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने भएकाले चार जना मतदाता कम हुने देखिन्छ । राष्ट्रिय सभामा निर्वाचनमा सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । स्थानीय तह, चार प्रदेशमा सत्ताको प्रमुख घटक कांग्रेस पहिलो छ । बाँकी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन सहजत बहुमतमा देखिन्छ ।सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत लोसपा, नाउपा लगायतका दल आबद्ध छन् । आगामी माघ दोस्रो सातासम्म सत्ता समीकरणमा फेरबदल नआए राष्ट्रियसभामा एमालेले ९ सांसद गुमाउन सक्ने देखिन्छ । साभार : रातोपाटी