काठमाडौं ,फागुन ३ गते । नेपाली भाषामा लेखिएको रामायणमा आधारित भई मैथिली भाषामा लेखिएको ‘अर्चनाकृत रामायण’ विमोचन गरिएको छ।
मामाघर आश्रमद्वारा बुधबबार ललितपुरको बाँडेगाउँमा आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणका आधारमा पत्रकार अर्चना झाद्वारा मैथिली भाषामा लिखित रामायणको विमोचन गरे।
पूर्वउपप्रधानमन्त्री निधिले रामायणको लेखनबाट झाले आफू, आफ्नो परिवारका साथसाथै भाषा र संस्कृतिलाई अमर बनाएको बिचार व्यक्त गरे। उनले रामायणमा रामसँगै सीताको पनि चर्चा गरिनुपर्ने बताउदै सीताविना रामको कथा अधुरो हुने बताए।
“सीताको बर्णन ओझेलमा परिरहेको छ। सीता नेपाली चेली हुन्। मैले मेरो आँखाले हेर्दा रामायण भनेको धार्मिक ग्रन्थ मात्रै हैन, राजनीतिक प्रेरणादायी कथाको स्रोत हो। यसलाई बृहत् ढङ्गले हेर्नुपर्छ र बृहत् ढङ्गले व्याख्या गर्नुपर्छ”, नेता निधिले भने।
उनले हामीले रामायणलाई कुन आँखाले हेर्छौं भन्ने कुरामा निर्भर गर्छ भन्दै रामायण संसारको सबैभन्दा प्रेरणादायी राजनीतिक ग्रन्थ हो उल्लेख गरे। उनले आजको पुस्ताले रामायणलाई धार्मिक पुस्तक वा राम र सीताको कथामा मात्रै सीमित नगरी राजनीतिकरुपमा पनि हेरिनुपर्ने र त्यसबाट शिक्षा लिनुपर्ने धारणा व्यक्त गरे।
प्रकाशित कृतिमाथि समीक्षा गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रामायणमा रामको मात्रै चर्चा बढी गरिएको बताउदै सीताको भूमिमा सीताको चर्चालाई व्यापकता दिइनुपर्नेमा जोड दिए।
उनले मैथिली भाषामा लेखिएको रामायण स्थानीय जनवनेलीमा लेखिएको र सबैले बुझ्नसक्ने पहिलो कृति भएको बताउँदै मैथिली समाजमा यसले भाषा कसरी लेख्ने भनेर एउटा बहस सृजना गर्ने बातावरण बनेको बताए।
साहित्यकार डा मञ्चला झाले मैथिली भाषामा अनुवाद गरेर लेख्ने आँट गरेकामा लेखक झाप्रति आभार व्यक्त गरिन्। उनले यो पुस्तक सजिलैसँग बुझ्न सकिने बताइन्। हालसम्म ५० वटाभन्दा बढी भाषामा रामायण लेखिएको बताउदै उनले यो पुस्तक प्रकाशनबाट मैथिली भाषाको व्यापकतामा सहयोग पुगेको बताइन्।
महर्षी तथा संस्कृत भाषाका आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मिकी रामायण’ त्रेतायुगमा भएको मानिन्छ। पवित्र धार्मिकग्रन्थका रूपमा रहेको रामायणमा दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु वशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रिव, जटायु आदिलाई मुख्य पात्रकारुपमा चित्रित गरिएको छ।
साभार : स्पेसखबर
2 वर्ष पहिले
428 Post Views





_1782642472.jpeg)

