काठमाडौं वैशाख २७ गते । नेकपा माओवादी केन्द्रले मधेशका मुख्यमन्त्री सरोज यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरू गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको भन्दै माओवादीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल चलाएको हो ।
.
माओवादीका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘जसपाबाट मधेशमा मुख्यमन्त्री बनेका यादवलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल भइरहेको छ । अहिले निष्कर्षमा पुगेका छैनौं त्यो निर्णय हुनसक्छ ।’
उनले उपेन्द्र यादवले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्न खेलेको खेल स्वीकार्य नभएको पार्टीको निष्कर्ष सुनाए ।
ती पदाधिकारीले भने, ‘उहाँले अहिले आफैं सरकारमा बसेर त्यही सरकार ढाल्न खोज्नुभएको पुष्टि भइसकेको छ । त्यो स्वीकार्य हुँदैन ।’ प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै रहेको भनेपनि प्रधानमन्त्रीले त्यसबारे छलफल गरिरहेको ती नेताको भनाइ छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट फुटेर अशोक राईले नयाँ पार्टी खोलिसकेका छन् । मधेशका मुख्यमन्त्री यादव उपेन्द्र पक्षधरका हुन् ।१ सय ७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा जसपा नेपाल नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस रहेको समर्थन छ।
त्यहाँ एमाले २४, जसपाका १९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन्। वैशाख पहिलो साता विश्वासको मत लिँदा मुख्यमन्त्री यादवको पक्षमा ६१ मत प्राप्त गरेका थिए। माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ।
त्यहाँ कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, नागरिक उन्मुक्ति र संघीय समाजवादीका १र१ सांसद छन्।
साभार : नेपाल प्रेस