काठमाडौं ,साउन १२ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल कानूनअनुसार खोल्नुपर्ने बताएका छन् ।मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले गरेको कार्यक्रममा बोल्दै उनले एमालेसँग सात बुँदे सहमति भए पनि विमतिमा प्रश्न उठाउन नछाड्ने बताए ।महामन्त्री शर्माले जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानूनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्ने बताए ।उनले भने, ‘सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन । यो सरकारले जनतामा आशा जगाउने काम गरेर जानुपर्छ ।
सात वटा बुँदामा भएको सहमति कार्यान्वयन गरेर जानुपर्छ । सात बुँदामा भएको सहमतिपछि ८ औं नम्बरमा भएको विमति छाड्न सक्दैनौं । चाहे प्रकरण भुटानी शरणार्थीको होस् या गिरीबन्धुको होस् । कसैले कसैलाई औंला नठड्याइ कानूनअनुसार जानुपर्छ ।’उनले एमालेसँग मिलेपछि आफू र अर्का महामन्त्री गगन थापामाथि प्रश्न उठाएपछि थप जिम्मेवार बनाएको अनुभूति भएको बताए । उनले यी प्रकरणहरुको विषयमा सदनमा बोल्ने पालो आएपछि यही कुरा राख्नेसमेत बताए ।
साभार : नेपाल प्रेस