काठमाडौं, साउन २४ : प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विहीबार नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड अन्तर्राष्ट्रिय अभ्यास अनुरूप भए÷नभएको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना सम्बन्धमा समितिले विहीबार सम्बद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, राज्यमन्त्री, सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग गरेको छलफलपछि उक्त निर्देशन दिएको हो।
समितिले १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिसका लागि विज्ञ संलग्न स्वतन्त्र छानबिन समिति गठन गर्न समेत सरकारलाई निर्देशन दिएको छ।
नेपालको हवाई नीति २०६३ साल देखि कार्यान्वयनमा आएपनि हवाई उड्डयन सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले नीति तर्जुमा गर्न समेत सरकारलाई निर्देशन दिइएको छ।
समितिले यसअघि भएका हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित प्रतिवेदनहरू उपलब्ध गराउन नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
यस्तै, समितिले नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदल मार्फत पेस भएका अध्ययन अनुसन्धानमूलक प्रतिवेदनको जानकारी पनि समितिलाई यथाशीघ्र उपलब्ध गराउन भनेको छ।
यसअतिरिक्त नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक पनि यथाशीघ्र संघीय संसदमा पेस गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।
साभार : काठमाडौं प्रेस