काठमाडौँ ,असार १७ गते । ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो ।
आजकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नुभयो । यस विधेयकउपर २१ जना सांसदले एक सय २३ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।
प्राप्त संशोधन प्रस्तावसहित विधेयकमाथि यही असार ११ गते सैद्धान्तिक छलफल भएको थियो । विधेयकले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन तथा महशुल सङ्कलनमा प्रभावकारिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।
साभार : रेडियो नेपाल
