काठमाडौं, माघ १८ : भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदान रकममा वृद्धि गरेको छ।
भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आइतबार त्यहाँको संसद्मा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका निम्ति ८०० करोड भारु (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) विनियोजन गरिएको छ । यो रकम गत आर्थिक वर्षको तुलनामा १०० करोड भारुले बढी हो।
आर्थिक पुनरुत्थानको चरणमा रहेका मुलुकलाई सहयोग पुर्याउने उद्देश्यले भारतले नेपाल, भुटान, श्रीलंकालगायत देशमा अनुदान बढाएको छ । नेपालका निम्ति भारतको अनुदान विगत केही वर्षदेखि उतारचढावपूर्ण देखिएको छ।
आर्थिक वर्ष २०२४–२५ मा भारतले नेपालका निम्ति ११.२ अर्ब भारु विनियोजन गरेको थियो। २०२३–२४ मा ८.८ अर्ब भारु छुट्ट्याइएको थियो।

सन् २०२२–२३ मा सुरुमा नेपाललाई १२ अर्ब भारु अनुदानको प्रतिज्ञा गरिएको थियो। पछि त्यसलाई परिमार्जन गरेर ६.८ अर्ब भारुमा झारिएको थियो।
यस वर्षको १४ प्रतिशतको वृद्धिले नेपालसँगको विकास साझेदारीलाई भारतले उच्च प्राथमिकतामा राखेको संकेत गर्छ।
भारतबाट सबैभन्दा बढी अनुदान प्राप्त गर्ने मुलुकमा भुटान यथावत् छ। भुटानलाई अनुदान ६ प्रतिशतले बढाएर २,२८९ करोड भारु पुर्याइएको छ ।
साभार : काठमाडौं प्रेस