काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गरेका छन्।
उनले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन्।
भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै डा.वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताए । उनले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गरे ।
डा.वाग्लेका अनुसार पछिल्लो प्रारम्भिक क्षति मूल्यांकनमा नेपालमा करिब २ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । त्यस्तै, थप १ अर्ब डलर बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान छ।
‘बिल्ड ब्याक बेटर’ अर्थात् अझ सुरक्षित र दिगो संरचना निर्माण गर्ने हो भने पुनर्निर्माणको लागत आगामी केही वर्षमा ४ अर्ब ५० करोडदेखि ५ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने उनले बताए।
नेपालले पुनर्निर्माणका लागि भारतसहित अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग अपेक्षा गरेको वाग्लेले बताए । भारतसँग कति रकम अपेक्षा गरिएको छ भन्नेबारे भने नेपालले निश्चित अंक तोक्न नचाहेको उनको भनाइ छ । सन् २०१५ को भूकम्पपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग करिब ४ अर्ब डलर सहयोग माग्दा भारतले १ अर्ब डलर सहयोग गरेको स्मरण गर्दै वाग्लेले त्यसमध्ये २५ प्रतिशत अनुदान र बाँकी सहुलियतपूर्ण ऋण रहेको बताए ।
पुनर्निर्माणका लागि नेपालले ‘डेब्ट फर रिकभरी स्वाप’ लगायत नवीन वित्तीय उपकरण प्रयोग गर्ने विषयमा समेत छलफल अघि बढाउने भएको छ । अन्तर्राष्ट्रिय साझेदार तथा छिमेकी मुलुकसँग आवश्यकता र परिस्थितिअनुसार सिर्जनात्मक वित्तीय विकल्प खोजिने उनले बताए । वाग्लेले विपद्का कारण करिब १ हजार ४ सय जनाको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको जानकारी दिएका छन्। बेपत्तामध्ये करिब १९० जना भारतीय नागरिक रहेको उनले बताए ।
जलवायु परिवर्तनका कारण यस्ता विपद् आगामी दिनमा अझ बढ्न सक्ने भन्दै वाग्लेले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालजस्ता कमजोर तथा उच्च जोखिममा रहेका मुलुकतर्फ केन्द्रित गर्नुपर्ने बताए । नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपाली जनताले भोगिरहेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय सहयोग जुटाउने अभियानअन्तर्गत डा।वाग्ले दोहा, न्यूयोर्क र वासिङ्टन डिसीसहित विभिन्न मुलुक तथा संस्थासँग छलफल गर्ने तयारीमा छन् । उनले एसियाली पूर्वाधार लगानी बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघसँग पुनर्निर्माण तथा वित्तीय सहयोगबारे छलफल गर्ने बताएका छन् ।
अक्टोबरमा बैंककमा हुने ब्रेटन उड्स संस्थाहरूको वार्षिक बैठकमा समेत सहभागी हुने उनको भनाइ छ । प्रधानमन्त्री बालेन शाहले पनि संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगेको विपद्, जलवायुजन्य जोखिम र पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे विषय उठाउने वाग्लेले बताए । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण नयाँदिल्लीबाट सुरु गर्नुले पुनर्निर्माण प्रक्रियामा भारतको सहयोगको महत्त्व देखाउने बताए ।
साभार:: काठमाडौं प्रेस


-1789821441_1789829583.jpg)






