काठमाडौं । मंसिर ४ गतेको चुनावपछि नेपाली कांग्रेसले पहिलो पटक एउटा प्रदेशमा सरकारको नेतृत्व पाएको छ।नेकपा (एमाले) बाट सुदूरपश्चिमका मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावल विश्वासको मत पाउन नसकेपछि बिहीबार पदमुक्त भए। रावल पदमुक्त भएको केही घन्टापछि नै सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त भए। उनले शुक्रबार शपथ लिँदै छन्।
सुदूरपश्चिममा भएको हठात् सत्ता फेरबदललाई कांग्रेसले फेरि आफू सत्तामा फर्किने संकेतको रूपमा लिएको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफूहरूले पहिला नै सत्तामा फर्किने भनेको र त्यही अनुसार सुदूरपश्चिममा सरकार बनेको बताए।
चितवनमा आज बिहान पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले गत पुस २० गते पत्रकार सम्मेलनमै आफूले ‘वी विल कम ब्याक’ भनेको प्रसंग उप्काए। उनले तत्काल अरू प्रदेश वा केन्द्र सरकारमा कांग्रेस नजाने पनि बताए।
‘कांग्रेस अनेकौं आँधीबेहरी भोगेर आएको पार्टी हो। सभापतिको भनाइ उद्धृत गर्दै मैले पत्रकार सम्मेलनमै भनेको थिएँ नि- वी विल कम ब्याक भनेर। सुदूरपश्चिममा कांग्रेसले सरकार बनाएको छ।’
उनले गठबन्धनमा रहेका दलहरू अविचलित उभिन नसक्दा पहिलेको गठबन्धन भत्केको महतको भनाइ छ। तर कांग्रेस अविचलित भएर उभिएकोले सत्ता हात लागेको उनले बताए।
‘तीव्र महत्वकांक्षाका आधारमा नयाँ गठबन्धन बनेको थियो, त्यो गठबन्धन विचारका आधारमा थिएन,’ महतले भने, ‘कोही नो नट अगेन भन्दै आएका त कोही संघीयता र प्रदेश चाहिन्न भनिरहेका शक्ति रहेको गठबन्धन थियो। यो गठबन्धनको जग बलियो छैन।’
उनले संविधान, कानुन र व्यवस्थाअनुसार चल्ने राष्ट्रपति आवश्यक रहेको पनि बताए। राष्ट्रपति निर्वाचनमा सहयोग गर्न एमाले र माओवादीसहित दलहरूलाई उनले आग्रह गरेका छन्।
‘हाम्रो लक्ष्य राष्ट्रपति निर्वाचनमा छ। संविधान रक्षा गर्ने राष्ट्रपति चाहिएको छ। संविधानको मुल भावना तोड्ने विगतका जस्तो राष्ट्रपति हुन हुन्न। एमालेबाटै राष्ट्रपति भयो भने संविधान तोड्ने खतरा रहन्छ,’ महतले भने।
महतका अनुसार राष्ट्रपतिमा सहयोग गर्ने माओवादी केन्द्रले संकेत दिएको छ। तर निर्वाचन भएर परिणाम हात नलागेसम्म भर पर्न नसकिने उनले बताए। उनले राष्ट्रपति राजनीतिक व्यक्ति नै हुने बताएका थिए।
‘संविधानको रक्षा गर्ने ग्यारेन्टीका लागि राष्ट्रपतिमा माओवादीले पनि सहयोग गर्ने संकेत छ,’ उनले भने। कांग्रेसले संघीय र प्रदेश सभा संसदमा आफूहरू सबैभन्दा ठूलो दल रहेको र मतभार पनि सबैभन्दा धेरै भएकोले राष्ट्रपतिमा दाबी स्वभाविक भएको तर्क गर्दै आएको छ। फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।साभार : सेतोपाटी