जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नयाँ नेतृत्वका लागि बिहानदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । ६ वटा मतदान भइरहेको र बिहान ८ बजेदेखि मतदान सुरु भएको र दिउँसो १ः०० बजेसम्ममा करिब १ हजार ५ सय विद्यार्थीहरूले मतदान गरेका छन् । विभिन्न संकायका ब्लकहरूमा सम्बन्धित सङ्कायमा अध्ययनरत रहेका विद्यार्थीहरूलाई मतदानको व्यवस्था मिलाइएको छ ।
कूल ७ हजार २ सय मतदाता रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा २१ जना पदाधिकारी तथा सदस्यहरु निर्वाचित हुनेछन् । स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित अन्य पदका लागि गरेर ८८ जना विद्यार्थीले उम्मेदवारी दिएका छन् । लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्यार्थी सङ्घको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट मनिषकुमार यादव, ५ दलीय गठबन्धनको तर्फबाट संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले सभापति पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा हुनुहुन्छ । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी सङ्गठनहरू रहेका छन् ।
त्यस्तै जनमत पार्टी निकट विद्यार्थी जनमत सङ्घको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषद्बाट अभिषेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएर प्रतिस्पर्धामा हुनुहुन्छ । राराबमा स्ववियु कार्यसमितिमा ११ जना प्रत्यक्षबाट र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा बाहिरी भागमा सशस्त्र प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गर्ने काम भएको छ । त्रिभुवन विश्व विद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । साभार : रेडियो नेपाल अनलाइन