काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेस माओवादीसहितको सत्तागठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।सप्तरीको कंचनरूप नगरपालिकामा मंगलबारदेखि सुरु भएको मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै नेता निधिले सरकार मात्र नभई अहिलेको संसद् पनि पाँच वर्षसम्म कार्यान्वयनमा रहने उल्लेख गरे। उनले कुनै पनि बहानामा संसद बिघटन गर्न नहुने जिकिर गरे।
उनले केन्द्रमा दुई तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए। गठबन्धनबाट पाँच बर्षभित्र तीन जना प्रधानमन्त्री हुने सहमति भएको भन्दै निधिले त्यही जनादेश अनुसार आफूहरु अघि बढ्ने उल्लेख गरे।संघीय सरकारले पूर्णता पाए लगत्तै सातवटै प्रदेशमा गठबन्धनको सरकार गठन हुने निधिले बताए। प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्ने र केहीमा सरकारमा सहभागी हुने भन्दै उनले अहिले नेतृत्व नपाएको प्रदेशमा पाँच बर्षभित्र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने पनि जानकारी गराए।
आगामी वैशाख १० गते हुने उपनिर्बाचनमा सत्ता गठबन्धनबीच सहमति गरी उम्मेदवारी दिइने नेता निधिले उल्लेख गरे। कतै कांग्रेस त कतै गठबन्धनको उम्मेदवार हुने पनि उनको भनाई थियो।कंचनरूप नगरपालिकाका प्रमुख ललग गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस सांसद दिनेश यादव, पूर्बमन्त्री सत्यनारायण चौधरी, पूर्व सांसद डा. सूर्यनारायण यादवलगायतका वक्ताहरुले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए।साभार : स्पेसखबर