काठमाडौं - नेपाली कांग्रेसमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा नेतृत्व गर्ने मोटामोटी सहमति जुटेको छ ।तर बाहिर भने सार्वजनिक गरिएको छैन । आइतबार बस्ने १० दलको बैठकमा मन्त्रालय भागबन्डा जुटेमा मात्र कांग्रेसले सरकारमा नेतृत्व गर्ने नेताको नाम सार्वजनिक गर्ने भएको छ ।कांग्रेसमा खड्का, प्रकाशमान सिंह र डा.शेखर कोइरालामध्ये एकले पार्टीको नेतृत्व गर्ने चर्चा चलेको छ । शनिबार राति पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उपसभापति खड्काकै नेतृत्वमा सरकारमा पठाउने सैद्धान्तिक सहमति जुटेको नेताहरूले दाबी गरेका छन् ।कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा पनि उपसभापति खड्काकै नेतृत्वमा सरकारमा पार्टी जानेमा ढुक्क छन् । तर खड्काले पहिले मन्त्री नबन्ने भनेकाले उनलाई नैतिक संकट भने छ ।कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ। खड्काले विगतमा नौवटा मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।उनले यसअघि अर्थमन्त्री बन्न चाहेका थिए । तर पाएनन् । यसपटक पार्टीले अर्थ मन्त्रालय पाउने भएपछि कसलाई पठाउने भन्ने विवाद थियो ।प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर राणा, विनोद चौधरी अर्थमन्त्रीका आकांक्षी थिए । महामन्त्री गगन थापा पनि अर्थमन्त्री बन्ने भन्ने बजारमा चर्चा थियो । तर उनले आफू नबन्ने स्पष्ट पारिसकेका छन् ।पार्टी अर्थ मन्त्रालय चलाउने कुशल नेतृत्वको खोजी गर्दागर्दै खड्कालाई पठाउने सहमति जुटेको बुझिएको छ । खड्का अहिले पार्टी उपसभापति छन् ।पार्टीको डिफ्याक्टो सभापतिसमेत उनलाई नै भन्ने गरिन्छ । एमालेसँग मिलेर प्रधानमन्त्री भइसकेका प्रचण्डलाई नयाँ राजनीतिक कोर्षमा ल्याउन खड्काकै मुख्य भूमिका रहेको सबैले बुझेका छन् ।प्रचण्डले पनि नयाँ समीकरण बनाउने नेतालाई नै कांग्रेसबाट सहयोगी पाउने सम्भावना छ । खड्का अर्थमन्त्री नबन्दा फेरि माओवादीका जनार्दन शर्माले चान्स पाउने भएकाले पनि कांग्रेसले उनलाई अघि सारेको बताइन्छ ।प्रचण्ड साढे दुई वर्ष प्रधानमन्त्री बन्दै छन् । प्रचण्ड सरकार रहेसम्म खड्का पनि अर्थमन्त्री बन्ने छन् ।साभार : मिडिया डबली