काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका थिए ।तीन शीर्ष नेताबीच भोलि बेलुकी ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।सरकारलाई पूर्णता दिन प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेर गठबन्धनको बैठक राखेर टुंग्याउन लागेका हुन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने ११ दललाई समेटेर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ र माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्रालय लिने लगभग सहमति भइरहेको छ । तर, नेकपा एस र जसपाले ३/३ मन्त्रालय दाबी गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई दुई-दुई मन्त्रालय दिन तयार छन् । तर, नेकपा एसले त्यतिमा चित्त नबुझाउने संकेत अध्यक्ष नेपालले आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गरिसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको मुख्यमन्त्री दिने आश्वासन दिएर भएपनि नेपाललाई मनाउने प्रयास जारी राखेका छन् ।जसपा यसअघि सात दलीय गठबन्धनमा हुँदा पनि दुई मन्त्रालय दिएपछि असन्तुष्ट जनाउँदै सरकारमा सहभागी भएको थिएन । तर, अहिले उपराष्ट्रपति पाइसकेकाले दुई मन्त्रालयमा चित्त बुझाउने सम्भावना छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टीलाई पनि प्रधानमन्त्रीले एक-एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गृहकार्य भइरहेको छ । तर, जनमत, लोसपा र नाउपाले एक मन्त्रालयमा चित्त बुझाउन नसक्ने अडानमा छन् ।साभार : नेपाल प्रेस