जनकपुरधाम ,१३ गते चैत | मधेस केन्द्रित साना चार दलहरु मिलेर लोकतान्त्रिक मधेशी मोर्चा गठन भएको छ । आज सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले आपसी सहकार्य गर्दै लोकतान्त्रिक मधेसी मोर्चा गठन गरेको मोर्चाका मुख्य दल तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष विषेशचन्द्र लालले जानकारी दिनु भएको छ । मोर्चाले आफ्नो ११ बुँदे साझा अवधारणा–पत्र सार्वजनिक गर्दै मधेसीहरूले आफ्नो आन्दोलन मार्फत मधेसीको वा मधेसको उच्चताको माग नगरी सबैको निमित्त बराबरीको माग गरेको छ । अध्यक्ष लाले वर्चस्ववादीहरूले यसलाई बर्गलाएर मधेस आन्दोलनका स्वयंघोषित वारेसहरूले सत्ताको स्वाद लिन यसलाई बिसाएको आरोप लगाउनु भयो । बाइट बृषेशचन्द्र लाल मोर्चाले पहिचानमा आधारित रहि प्रदेशहरूको सीमांकन, समानुपातिक समावेशिता, पूर्ण समानुपातिक प्रतिनिधित्व, भाषा र संस्कृतिको विशिष्टताको सम्मान, स्थानीय र प्रादेशिक तर्फको संघीय संसदको सदन राष्ट्रियसभामा जनसंख्यामा आधारित प्रतिनिधित्व तथा संघीय संसदीय अभ्यासमा राष्ट्रियसभाको समान भूमिका लगायतका विषयमा संविधान संशोधनको माग गरेको छ । संविधानमा भएकै व्यवस्थालाई समेत अभ्यासमा पन्छाइने र वेवास्ता गर्ने कामहरू भइरहेको आरोप लगाउँदै मोर्चाले समावेशिताको सिद्धान्तको मर्म अनुसार वर्तमान संविधानको संशोधन गरी समानुपातिक समावेशिताको अभ्यासलाई न्यायोचित र सहज बनाउनुपर्ने भनेको छ । वर्तमान मिश्रित निर्वाचन प्रणालीमा देखिएका विकृतिहरूको चर्चा गर्दै मोर्चाले स्थानीय तहको दलविहीन निर्वाचन तथा प्रदेशसभा र संघीय संसदको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन पद्धति अपनाइनु पर्ने भनेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग गर्दै मोर्चाले युवाहरूको निमित्त स्वदेशमै रोजगार, कृषि क्षेत्रको प्रतिफलमूलक सुधारलाई अवधारणा–पत्र मार्फत आफ्नो मागमा समेटेको छ । लोकतान्त्रिक मधेशी मोर्चाले संघीय संसदको दुवै सदनबाट दुई पटक पारित भई गत भदौ २० गते राष्ट्रपति समक्ष प्रमाणिकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल प्रमाणिकरणको कार्य पूरा नगरिएपछि संविधानको मर्म अनुसार उक्त विधेयक स्वतः प्रमाणीकरण भएको जिकिर गर्दै सो विधेयकलाई कानुन बनेको घोषणा गर्न माग गरेको छ । कार्यक्रममा संविधानसभा सदस्य तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा. विजय कुमार सिंह तथा पूर्व शिक्षा राज्यमन्त्री गोविन्द चौधरी थारूको समेत उपस्थिति रहेको थियो ।