जनकपुरधाम ,१३ गते चैत ।धनुषा जिल्लाको हंसपुर नगरपालिकामा चालु आर्थिक वर्षको विभिन्न कृयाकलापमा आर्थिक अनियमितता भएको आरोप लगाउदै लोकतान्त्रिक समाजबादी पार्टीले मेयर प्रदिप यादवलाई सोमबार ज्ञापनपत्र बुझाएका हुन ।लोसपाका हंसपुर नगरपालिकाका अध्यक्ष लालबाबु यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सो पालिकाले गरेको विभिन्न शिर्षकको काममा आर्थिक हिनामिना भएको भन्दै मेयरलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । सो ज्ञापनपत्रमा उल्लेख भएअनुसार कृषि सामग्रीका लागि खरिद गरिएको ट्यांकी नातागोता तथा पार्टीका कार्यकर्तालाई मात्र वितरण गरिएको,कृषिका लागि खरिद गरिएको पोल र तार आफन्तको घर निर लगाइएको,छठ पर्वमा नगरपालिकाले छठ सामग्री वितरणका लागि खरिद गरेको १० लाखको सामान वितरण नगरी भुक्तानी भएको,स्थायी कर्मचारी भएपनि ज्यालादारीमा अत्यधिक कर्मचारी खटाई आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । त्यस्तै नियमविपरित हैयडपाइप वितरण गरिएको,हंसपुर नगरपालिकाको प्रशासनिक भवन मापदण्ड विपरित निर्माण गरी अनियमितता भएको, नौवाखोर देखि मुल सडकको पुल सम्म पिसिसि ढलानको बजेट रकम ८० लाखमा उपभोक्ता र टेन्डर दुवै प्रक्रियाले बनाइएकाले गुणस्तरहिन काम भएको,इन्धनमा अनियमितता भएको, पालिकामा छैठौँ तहका कर्मचारीलाई १० लाख भन्दा कम तथा करार र ज्यालादारीका कर्मचारीलाई १० लाख भन्दा माथिको स्टीमेट मुल्यांकनको जिम्मेबारी दिई प्रमुख स्वयंले अनियमितता गरेको आशंका गरिएको ज्ञापनपत्रमा उल्लेख छ । साथै लोसपा हंसपुर नगरपालिकाले विभिन्न शिर्षकमा सूचना समेत माग गरिएको अध्यक्ष यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७८–०७९ को खरिद गरिएको सबै शिर्षकको रकम भुक्तानी सहितको विवरण, सम्पुर्ण आय व्ययको विवरण, जिन्सी प्रतिवेदन, सो आर्थिक वर्ष देखि हाल सम्म खरिद गरिएको सबै शिर्षकको विवरण,विभिन्न शाखा प्रमुख कर्मचारीहरुको नाम,पद, स्थायी ,अस्थायीको विवरण लगायतका विभिन्न शिर्षकमा सूचना माग समेत गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।