काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्रयादवसहित ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाह्र राजनीतिक दल र बाँकी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । जसपा अध्यक्ष यादवले जिल्ला समन्वय समिति बारामा रहेको निर्वाचनको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । यादवको प्रस्तावकमा जसपाका नारायणप्रसाद यादव र समर्थकमा सो दलका नवल यादव रहेका छन् । उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थन रहेको छ । यस क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । नेकपा (एमाले) बाट पूर्वमन्त्री पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टीबाट संविधानसभा सदस्य शिवचन्द्र कुसवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलको पनि उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन कार्यालयले जनाएको छ । नेपाल मजदुर किसानबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी, आमजनता पार्टीबाट अरुण ज्ञवालीको उम्मेदवारी परेको छ । बारा–२ मा ४६ हजार तीन सय १४ पुरुष र ५८ हजार नौ सय ३४ महिला गरी कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए । साभार : कोसी अनलाइन