जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । स्थानीय निरन्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ ।प्रहरीका अनुसार गोली लागेर घाईते निरन्जन, रामकुमार र अन्य दुई घाइतेको उपचार गरुढास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ । निरन्जनको अबस्था गम्भीर छ ।उक्त गोली काण्डमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले गोली चलाएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।पक्राउ पर्नेहरुमा रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका छन् । घटनापछि सो गाउँका धेरै व्यक्ति घर छाडेका छन् । हिजैबाट त्यहां ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।मृतक यादवको शव अहिले पनि अस्पतालमै छ । शव आफन्तले बुझेका छैनन् । घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग राख्दै उनको परिवारले शव नबुझेको बुझिएको छ ।धोबिनियास्थित साँघुरो बाटोलाई चौडा गर्ने क्रममा वारिपारीका रामइश्वर राय यादव र राजकुमार यादव पक्षबीच भएको झडपमा गोली चलेको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको आरोप लागेको छ ।साभार : नेपाल प्रेस