जनकपुरधाम । धनुषा जिल्लाको साबिकको सोहनी सीनरजोडा र हालको लक्ष्मीनिया गाउँपालिकाको वडा नं १ र २ का २ सय ७० परिवारलाई नापी कार्यालय धनुषाले आज जग्गा धनी प्रमाणपूर्जा वितरण गरेको छ ।
गाउँ ब्लकको उक्त जग्गामा स्थानीयवासीले पुस्तौंदेखि बसोबास गरे पनि जग्गा धनी प्रमाणपूर्जा पाउन सकेका थिएनन् । लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र तथा नापी कार्यालय धनुषाका प्रमुख नापी अधिकृत सुमन किशोर मिश्रले संयुक्त रुपमा जग्गा धनी प्रमाणपूर्जा वितरण गर्नुभएको थियो ।
उक्त गाउँपालिकामा ६ सय २३ परिवारका लागि जग्गा धनी प्रमाणपूर्जा तयार पारे पनि आज २ सय ७० परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको प्रमुख नापी अधिकृत मिश्रले जानकारी दिनुभयो ।
धनुषामा दुई वर्षको ५ हजार ६ थान जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको प्रमुख नापी अधिकृतले बताउनुभयो ।
कार्यक्रममा लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले जग्गा धनी प्रमाणपूर्जा वितरण गरी नापी कार्यालयले सराहनीय कार्य गरेको बताउनुभयो ।
लालपूर्जा पाएपछि स्थानीयहरू खुसी देखिएका थिए ।साभार: रेडियो नेपाल
कार्यक्रममा मधेश प्रदेशको वन निर्देशनालयले १ थान बिरुवा पनि निःशुल्क प्रदान गरेको थियो ।