काठमाडौं । लामो प्रतीक्षापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण तय भएको छ । उनी आउँदो १५ गते हुने बजेट भाषण लगत्तै आफ्नो पहिलो विदेश यात्राका रूपमा भारत जाने भएका छन् ।स्रोतका अनुसार जेठ १७ गते प्रचण्डलाई नयाँ दिल्लीमा स्वागत गर्ने विषयमा दुवै पक्षबीच लगभग सहमति भइसकेको छ । भ्रमणका क्रममा हुने वार्ता र सम्झौताका मस्यौदाहरू आदानप्रदान भइरहेको स्रोतले बतायो ।‘दुवै पक्षबाट भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ,’ स्रोतले भन्यो ।प्रचण्डले हिजो एक कार्यक्रममा बोल्दै आफू चाँडै भारत जाने बताएका थिए । यो भ्रमणमा केही रेकर्ड राख्ने तयारी भएको पनि उनले दाबी गरेका छन् । कस्तो रेकर्ड भन्ने चाहिँ खुलाएका छैनन् ।तेस्रो पटक प्रधानमन्त्री बनेदेखि प्रचण्डले भारत भ्रमणको व्यग्रता देखाउँदै आएका थिए । उनले पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्ने ध्येयका साथ अन्य देशका आमन्त्रणहरू अहिलेसम्म पन्छाउँदै आएका छन् । तर, भारतले औपचारिक रूपमा आमन्त्रण नगर्दा प्रचण्ड समस्यामा परेका थिए ।प्रचण्ड सरकारको भविष्यलाई लिएर आश्वस्त हुन नसकेको भारतले उनलाई भ्रमणमा निम्त्याउन आलटाल गरिरहेको थियो ।साभार : नेपाल प्रेस