काठमाडौं - भारतले नेपाललाई दुईवटा पेट्रोलियम पाइपलाइन बनाइदिने भएको छ ।साथै, एक भण्डारण स्थल पनि निर्माण गरिदिने भएको छ। त्यसका लागि भारतले १७ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। मन्त्री रिजालका अनुसार नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा लामो समयदेखि छलफल हुँदै आएकोमा प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणमा दुई सरकारबीच जिटुजी गर्ने सहमति भएको हो।नेपाल र भारत मिलेर रक्सौलदेखि अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बनाएका छन् । अहिले पाइपलाइनबाट डिजेल मात्र आउने गरेको छ । चाँडै पाइपलाइनबाट पेट्रोल ल्याउने तयारी भएको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए ।साभार : मिडिया डबली