विराटनगर । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्न सक्रिय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए । उनका अनुसार प्रहरीले उप महासचिव दिपा लावतीलाई पनि पक्राउ गरेको छ ।
कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका एलभी फोर्सका १७ जना कार्यकर्तालाई विराटनगरस्थित देवकोटा चोकबाट पक्राउ गरेको हो ।उनीहरू प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा भएका थिए । उनीहरूको साथबाट गुलेली लगायतका घरेलु हतियार समेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले बताए । उनका अनुसार सुरक्षा अवस्था मजबुत पारिएको बताए ।कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएका विभिन्न पहिचान वादी पार्टी र सङ्घ संस्थाले प्रदेश सभा घेराउको कार्यक्रम राखेका छन् । उनीहरूले शनिवार बाटै विराटनगरमा प्रदर्शन गर्दै आएका छन् ।
विराटनगरमा हुने प्रदर्शनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता पहिचान वादी सङ्घ संस्थाका नेता तथा कार्यकर्ताहरू विराटनगर केन्द्रित भएका छन् ।प्रदेश नम्बर १ पुन नामकरण सङ्घर्ष समितिको आयोजनामा हुने भनिएको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा अवस्था कडा बनाइएको छ । शनिवार बाटै प्रदेश सभा सचिवालय आसपासका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।प्रहरीले सुरक्षा चके जाँच तीव्र बनाएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।
साभार : नेपाल प्रेस