काठमाडौं , असार ३० गते । प्रि-ओपन सेसनबाटै दोहोरो अंकले बढेको शेयर बजार तीव्र उतार चढावपछि ५२ अंकले बढेर बन्द भएको छ । साताको पहिलो दिन आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा रोकियो ।आज प्रि-ओपन सेसनमै १ लाख ८० हजार ५१ कित्ता शेयरको खरिदबिक्री हुँदा ६ करोड ८२ लाख ७३ हजार रूपैयाँको कारोबार भएको थियो । भने, शेयर बजार खुलेको २ मिनेटमै ८६ अंकले बढेर २२९० बिन्दुमा पुगेको थियो ।आइतबार २ करोड २० लाख ४७ हजार ३२७ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार रूपैयाँको कारोबार भयो ।
आज रिदिपावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । दुवै कम्पनीको शेयरमा सकारात्मक सर्किट लगेको छ । २४ करोड २७ लाख ५८ हजार रूपैयाँको कारोबारका साथ जानकी फाइनान्स कम्पनी लिमिटेड शीर्ष स्थानमा रह्यो ।आइतबार बजार पुँजीकरण ३५ खर्ब ८० अर्ब बढी पुगेको छ ।आइतबार नेप्से परिसूचक दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । गत वर्ष साउन ७ गतेमात्रै २२२७ बिन्दुमा पुगेको थियो ।
यसअघि अन्तिम पटक २२५० को बिन्दुलाई पार गरी नेप्से परिसूचक २०७९ जेठ ४ गते २२७४.४२ को बिन्दुमा अडिएको थियो । त्यसयता नेप्से परिसूचक २२५७ को बिन्दुभन्दा माथि पुगेको छैन । आज करिब २७ महिनापछि परिसूचक २२५७ को बिन्दुमा पुगेको हो ।
साभार : नेपाल प्रेस